महानिर्देशकको सन्देश

आन्तरिक राजस्व विभाग आफ्नो संगठन संरचनाको सञ्जालीकरण, दक्ष र उत्प्रेरित जनशक्ति, अत्याधुनिक सूचना प्रविधिको प्रयोग मार्फत गुणस्तरीय सेवा प्रवाह गरी आन्तरिक राजस्व परिचालन गर्ने अग्रणी सार्वजनिक संस्थाको रूपमा स्थापित छ। विभागले आफ्नो लक्ष्य र उद्देश्य अनुसारका सेवा आमनागरिक र सरोकारवालालाई कम समय, लागत र मितव्ययी तथा पहुँचयोग्य रुपमा प्रवाह गर्दै आएको छ। यस कार्यमा आम सरोकारवालाहरुको निरन्तर सहयोग र सहकार्यको कारण कर सहभागिताको स्तर अभिबृद्धि भएको छ। मुलुकभर आर्थिक गतिविधि केन्द्रित व्यापारिक केन्द्रमा सञ्चालनमा ल्याइएका ८४ कार्यालयहरु (१ ठूला करदाता कार्यालय, १ मध्यमस्तरीय करदाता कार्यालय, ४३ आन्तरिक राजस्व कार्यालय र ३९ करदाता सेवा कार्यालय) मार्फत् करदातालाई अधिकतम पायक पर्ने नजिकको स्थानबाट कर प्रशासन सम्बन्धी सेवा सुलभ र सरल तरिकाले निरन्तररुपमा प्रवाह गरिएको छ।

कोभिड-१९ को कारणले सिर्जित चुनौतिलाई अवसरको रुपमा उपयोग गर्दै विभागले अनलाइनमार्फत् सेवा प्रवाहलाई सघन बनाई कार्यालयमा भौतिक उपस्थितिलाई उल्लेख्यरुपमा घटाएउन सफल भएको छ। करदाताले अनलाइनबाटै स्थायी लेखा नम्बर प्राप्त गर्न, आय विवरण तथा कर विवरण पेश गर्न, कर रकम भुक्तानी गर्नका साथै आवश्यकतानुसार आफ्नो विवरण हेर्न सक्ने गरी प्रणाली प्रयोगमा ल्याइएको छ। नेपाल सरकारले लिएको डिजिटल नेपालको संकल्पलाई साकार पार्न विभागले कार्यप्रक्रिया सरलीकरण, अनलाइन सेवाको विस्तार एवम् स्वचालित सेवा प्रवाहलाई दृढताका साथ अगाडि बढाएको छ। यस सन्दर्भमा विभागले सरोकारवाला सरकारी तथा अन्य निकायहरुसँग प्रणाली अन्तरआवद्धता गरी गुणस्तरीय सेवा प्रवाहमा नेतृत्वदायी भूमिकामा आफूलाई स्थापित गर्दै आएको छ। यस कुरालाई विभागले गत वर्ष प्राप्त गरेको डिजिटल गभर्नेन्स आईसिटी अवार्ड २०२० र हालै प्राप्त गरेको डिजिटल गभर्नेन्स अवार्ड विधाको  "२०२१ एशोसियो आइसीटी अवार्ड" नामक अन्तर्राष्ट्रिय अवार्डले पनि पुष्टी गरेको छ।

हाम्रा कर सम्बन्धी कानूनले स्वयम् कर निर्धारणलाई आधारभूत रुपमा स्वीकार गरेको छ। करदाता सहजीकरण र करदाता सन्तुष्टिलाई विभागले उच्च प्राथमिकता दिदै आएको छ। कराधार विस्तार, कर्मचारी तालिम तथा करदाता शिक्षाको माध्यमबाट कर संकलनमा बढोत्तरी गरी आर्थिक विकास तथा समृद्धिमा योगदान पुर्‍याउने अभियानमा हामी प्रतिबद्ध छौं। सरोकारवाला पक्षहरुसँग सहकार्य एवम् समन्वय गर्दै सुधारिएका सेवा प्रवाहसाथ सुशासनका अभ्यासलाई अवलम्बन गर्न विभाग क्रियाशील रहिआएको छ।

दशौं राष्ट्रिय कर दिवस २०७८ को "स्वेच्छिक कर सहभागितामा अभिबृद्धि : सुशासन, विकास र समृद्धि" नाराले करको दायरामा आउन तथा यथार्थ रुपमा कर दाखिला गर्न थप उत्प्रेरित गराउने र विकास तथा आर्थिक समृद्धि हासिल गराउनेतर्फ अग्रसर गराएको छ । सूचना प्रविधि प्रणालीको विकास तथा त्यसको अधिकतम उपयोग गरी सरल, छरितो तथा सुलभ सेवा प्रवाहको उद्देश्य प्राप्तिको लागि इन्टरनेटमा आधारित प्रणालीमार्फत् संसारको जुनसुकै कुनाबाट सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। यस व्यवस्थाले अन्ततः देशको विकास तथा समृद्धिमा उल्लेख्य योगदान पुर्‍याउने कुरामा विश्वस्त हुन सकिन्छ।

अन्तमा, उपलब्ध सूचना प्रविधि प्रणालीहरुको अधिकतम उपयोग तथा समुचित पृष्ठपोषण गरी सुधार प्रक्रियाका सहयात्रीको भूमिकाको लागि कर्मचारी, करदाता तथा सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछु। 'समृद्ध नेपाल सुखी नेपाली' को राष्ट्रिय अभियानमा हामी सबै हातेमालो गरी अघि बढौं।

धन्यवाद!