About

प्रमुख कर प्रशासकको सन्देश

आन्तरिक राजस्व विभाग अन्तर्गत आन्तरिक राजस्वका स्रोतमा आधारित कर राजस्व परिचालनमा क्रियाशील  कार्यालयहरुमध्ये मध्यमस्तरीय करदाता कार्यालय पनि एक हो । ठूला करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालयहरुको कार्यबोझको उचित एवं वैकल्पिक रुपमा व्यवस्थापन गरी गुणात्मक कर प्रशासनको मान्यता अनुरुप यस कार्यालयको स्थापना भर्इ  मिति 2075 भाद्र ०१ गतेबाट सञ्चालनमा आएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयले निर्धारण गरे बमोजिम रु.50 करोड देखि रु.१ अर्बसम्मको कारोबार गर्ने करदाताको कर प्रशासन एवं सहजीकरण गर्ने जिम्मेवारी सहित नेपाल राज्यभरि यस कार्यालयको कार्यक्षेत्र तोकिएको र सोही अनुरुप कार्य सम्पादन हुंदै आईरहेको छ।

करदातामैत्री सेवा प्रवाह,  कार्य प्रक्रियामा सूचना प्रविधिको प्रयोग एवं स्वचालित प्रणालीको अनुसरणले कार्यसम्पादन गुणस्तरमा अभिवृद्धि भएको छ । करसहभागिता एवं कर कानूनको परिपालना र जोखिममा आधारित करपरीक्षण/अनुसन्धानलाई प्राथमिकतामा राखी कार्यसम्पादन हुँदा राजस्व संकलनमा अनुकूल परिस्थितिको विकास हुँदै गएको छ ।

सक्षम र व्यवसायिक कर प्रशासन मार्फत सेवाग्राहीमैत्री, प्रविधिमैत्री र व्यवसायमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने र करदाता र कर प्रशासन वीच असल सम्बन्धको विकास गर्दै सूचना प्रविधिको उपयोग गरी करदाता सेवा प्रदान गर्ने,स्वयंकर निर्धारण प्रणालीलाई व्यवस्थित गर्दै जोखिम विश्लेषणमा आधारित भई प्रभावकारी तथा गुणस्तरीय कर परीक्षण अनुसन्धान मार्फत कर कानूनको परिपालना बढाउने र कर संकलन लागत घटाई कर सहभागिता बढाउने जस्ता कार्य गर्दै राजस्व संकलनको कार्य यस कार्यालयले गर्दै आएको छ ।

अन्त्यमा आगामी दिनहरुमा उपलब्ध हुंदै आएका नवीनतम सूचना प्रविधि तथा प्रणालीहरुको अधिकतम उपयोग गर्दै  समय समयमा भएका विभागीय मार्ग निर्देशका आधारमा आ-आफ्नो भूमिका निर्वाह गर्न सम्पूर्ण कर्मचारी, करदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद ।