नेपालको संविधानले परिलक्षित गरे अनुसारको विकास र समृद्विको लक्ष्य साकार पार्न आन्तरिक स्रोत परिचालनको महत्वपूर्ण भूमिका रहन्छ। आन्तरिक श्रोतको दिगो परिचालन मार्फत राष्ट्रिय श्रोत सुनिश्चितता गरी दिगो विकासको लक्ष्य हासिल गर्नमा समेत आन्तरिक राजस्व विभागले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ।
संघीय लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास सँगै एकातर्फ आम जनताका आवश्यकता र चाहानामा बढोत्तरी हुँदै गएको छ भने अर्कोतर्फ सरकारको साधारण खर्चमा समेत वृद्धि भएको छ। सार्वजनिक खर्चमा भएको बढोत्तरी अनुरुप राजस्व परिचालन गरी स्रोतको व्यवस्थापनमा तालमेल मिलाउनु चुनौतीपूर्ण रहेको छ।यसका लागि करको दायरा विस्तार गर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्मा ल्याउने, डिजिटल कारोबारको कराधारको संरक्षण तथा नियमन, लगानीमैत्री कर कानूनको तर्जुमा, पारदर्शी व्यवहार र स्वयंकर प्रणालीमा आधारित प्रविधि एवं करदातामैत्री प्रशासनलाई आत्मसाथ गर्दै स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न विभागले आफ्नो दैनिक काम कार्यवाही सञ्चालन गर्दै आएको छ।
अर्थतन्त्रमा विगत केहि वर्ष देखि देखापरेका आन्तरिक तथा बाह्य परिघटनाको कारण राजस्व परिचालनमा आशातित परिणाम आउन सकेको छैन। तथापि, आन्तरिक तथा बाह्य अवस्थाले गर्दा सिर्जित राजस्व परिचालनको कमीलाई परिपूरण गर्नका लागि कर प्रणालीमा समयानुकूल सुधार ल्याई सार्वजनिक खर्चको बढ्दो आवश्यकतालाई धान्न सक्ने गरी आन्तरिक स्रोतको परिचालनमा बढावा ल्याउने कार्यलाई मूर्तरुप दिन विभाग प्रयासरत छ। कर सहभागिता स्तरमा वृद्धिका लागि नीतिगत एवं कानूनी सहजता ल्याई सम्पूर्ण आर्थिक कारोबारलाई करको दायरामा ल्याउने, कर संकलन लागत र करदाताको कर परिपालना लागत घटाउने साथै कर प्रशासनलाई स्वच्छ, व्यावसायिक, प्रतिस्पर्धी, सदाचारमूलक बनाउने दिशातर्फ विभागले गरेको प्रयासका गतिलाई थप चलायमान बनाउनुपर्ने देखिन्छ।
आर्थिक क्षेत्रमा देखिएको संकुचनको वावजुद पनि आन्तरिक राजस्व विभागले लिएका नीतिगत, व्यवस्थापकीय, कार्यविधिगत र प्रणालीगत सुधारका कारण आन्तरिक राजस्वको आधार विस्तार र दिगो हुँदै गएको छ। जसका कारण भविष्यमा सार्वजनिक वित्त व्यवस्थापन थप सुदृढ हुने आशा गर्न सकिन्छ।
विकास, सार्वजनिक प्रशासन, सामाजिक सुरक्षा तथा सामाजिक न्याय कायम राख्नको लागि सार्वजनिक श्रोत व्यवस्थापन र आवश्यकता वीच उचित तालमेल मिलाउन नीतिगत, संरचनात्मक, प्रणालीगत सुधार गरिदै आएको छ।यसै अनुरुप विभागले हाल ठूला करदाता कार्यालय १, मध्यमस्तरीय करदाता कार्यालय १, आन्तरिक राजस्व कार्यालय ४३ र करदाता सेवा कार्यालय ३९ गरी जम्मा ८४ वटा कार्यालयहरुबाट उपरोक्त उद्देश्यबाट निर्देशित भई आवश्यक कार्य सम्पादन हुंदै आएको छ।
करदाता मैत्री कर प्रशासन संचालन गर्ने, स्वेच्छिक कर सहभागितामा आधारित कर प्रणाली अबलम्बन गर्ने, राजस्व नीतिहरूमा समसामयिक परिवर्तन गर्दै जाने, कर प्रशासनमा काम गर्ने कर्मचारीको क्षमता अभिबृद्धि गर्ने तथा नवीनतम प्रविधिको प्रयोग गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्ने, सबै किसिमको आर्थिक क्रियाकलापहरूलाई करको दायरामा ल्याई राजस्वको आधार फराकिलो बनाउने, राजस्व प्रशासनको बिस्तार तथा आधुनिकीकरण गरी कुशल, व्यवसायिक र स्वच्छ बनाउने, आर्थिक बिस्तारलाई सहयोग पुग्ने गरी लगानी मैत्री कर प्रणालीको नीति अवलम्बन गर्ने तथा कर प्रणालीलाई ब्यबसाय मैत्री बनाउने, कर संरचना र दरमा सामायिक सुधार गर्दै जाने, कर प्रणालीलाई थप सरल, छिटो छरितो र लागत प्रभावी बनाउने, कर सहभागिता तथा कर संकलन लागत न्युन बनाउने एवं राजस्व प्रशासनको संगठनात्मक, संरचनागत र प्रणालीगत तथा प्रकृयागत सुधार गर्दै जाने विभागको नीति रहेको छ।
अन्त्यमा, उपरोक्त नीतिलाई मार्गदर्शन सिद्धान्तको रुपमा लिई कर प्रशासनलाई डिजिटल प्रविधिमा आधारित बनाउदै स्वच्छ, पारदर्शी र प्रविधिमैत्री माध्यमबाट लक्षित उद्देश्य हासिल गर्न समग्र कर्मचारी वर्ग, करदाता तथा सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।