करदाता सेवा कार्यालय खैरहनी

चितवन जिल्ला भित्रका ४ वटा नगरपालिकाहरु रत्ननगर न.पा., कालिका न.पा., खैरहनी न.पा. र राप्ती न.पा. भित्रका करदाताहरुलाई लक्षित गरी राजस्व प्रशासन सम्बन्धी कार्यमा सहजताका लागी २०७७ सालमा स्थापित यस करदाता सेवा कार्यालय खैरहनी नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गतका ३९ वटा करदाता सेवा कार्यालयहरु मध्ये करदाताको संख्या र राजस्व संकलनको दृष्टिले महत्वपुर्ण कार्यालयको रुपमा परिचित छ ।
करदाता सेवा कार्यालय खैरहनीबाट हाल Personal PAN, Business PAN, Withholder PAN, मु.अ.कर दर्ता र अन्तःशुल्क इजाजतपत्र जारी, करदाताको वायोमेट्रिक, करचुक्ता प्रमाणपत्र जारी, स्थायी लेखा नं. स्थगन, करदाताको कारोवार स्थलको ठाँउसारी, नामसारी, कारोवार थप लगायत सुरु दर्ता निकायवाट भएको संशोधनलाई अधावधिक, करदाताले कर रकम दाखिला गर्दा गलत भएमा भौचर संशोधन, करदाता शिक्षा कार्यक्रम, बजार अनुगमन र कर सम्बन्धी गुणस्तरीय अन्य सेवा प्रदान गरिदै आएको छ । यस कार्यालयबाट सूचना अधिकारी नियुक्ति, विधुतिय शासन, उजुरी पेटिकाको व्यवस्था, शुद्ध खानेपानीको व्यवस्था, शौचालयको व्यवस्था, वेवसाइट अधावधिक लगायतका कार्यहरुबाट सुशासन प्रवर्धन तथा सेवा प्रवाह सुदृढिकरणको लागी प्रयास हुदै आएको छ ।
करदाता सेवा कार्यालय खैरहनीवाट कर सम्बन्धी सेवा प्रवाह गर्ने करदाताको संख्या आ.व. २०८०/०८१ अषाढसम्म जम्मा ५३,५८३ रहेको छ । आगामी दिनहरुमा नयाँ करदाता थप गर्ने, कर संकलनमा आधुनिक सूचना प्रविधिको प्रयोग वढाई थप सरलीकरण गर्ने र करदाताको कर अनुपालनामा अभिवृद्धिका लागी करदाता शिक्षा प्रदान गर्नुका साथै बजार अनुगमनलाई प्रभावकारी रुपमा गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
करदाता सेवा र कर संकलन सम्बन्धी काममा जनशक्तिको उच्चतम प्रयोग र समन्वयवाट कार्यसम्पादनस्तर अभिवृद्धि गरिनेछ । कानूनको परिपालना गराई कर संकलनको लागी करदातामैत्री प्रशासनमा जोड दिइनेछ । सूचनाको हक सम्बन्धी संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन गरी सुशासन कायम गर्ने प्रभावकारी उपायहरु अवलम्बन गरिनेछ । हामिले पाएको जिम्मेवारी पूरा गर्न हामी चुनौतीलाई अवसरमा परिवर्तन गर्ने कार्यमा केन्द्रित भई कानून वमोजिम सेवाप्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।