About

प्रमुख कर अधिकृतको सन्देशः

भौगोलिक अवस्थिति अनुसार नेपालको दक्षिण-मध्य भूभागमा रहेको चितवन जिल्लाभित्र आन्तरिक राजस्व प्रशासनका लागि स्थापना गरिएको कार्यालय आन्तरिक राजस्व कार्यालय, भरतपुर हो। यो नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गतका ४३ वटा आन्तरिक राजस्व कार्यालयहरू मध्ये करदाताको संख्या र राजस्व सङ्कलनको दृष्टिले महत्वपूर्ण कार्यालयको रुपमा परिचित छ।

राज्यलाई आम नागरिकले कुनै प्रतिफल पाउने अपेक्षा नराखी गरेको योगदान कर हो। शुरुमा जनताबाट आयकर लगायत अन्य प्रत्यक्ष कर सङ्कलन गर्न स्थापित सरकारी संरचनालाई कर विभाग वा कर कार्यालय भनेर नामाकरण गरिएको भए तापनि कर प्रशासनको अधिकार क्षेत्रमा भएको विस्तार र आधुनिकीकरणसँगै आयकर लगायत मूल्य अभिबृद्धि कर, अन्तःशुल्क तथा अन्य प्रत्यक्ष वा अप्रत्यक्ष कर सङ्कलनका लागि एउटै प्रशासनिक निकायको गठन गर्ने नेपाल सरकारको नीति अनुसार कर कार्यालयको नाममा परिवर्तन गरी आन्तरिक राजस्व कार्यालयहरूको स्थापना भएको हो। आन्तरिक राजस्व कार्यालय, भरतपुर वि. सं. २०५८ सालमा नयाँ नामकरण गरिएको भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित पुरानो कार्यालय भएको पनि विदितै छ। यस कार्यालयको प्रशासनिक कार्यलाई थप सरल र करदातामैत्री बनाउने उद्धेश्य राखेर नेपाल सरकारको निर्णयानुसार वि. सं. २०७७ सालदेखि खैरहनीमा करदाता सेवा कार्यालय स्थापना भएको छ। उक्त कार्यालयबाट चितवन जिल्लाभित्रका रत्‍ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिकामा कार्यक्षेत्र राखी व्यवसाय गर्ने स्थानिय तहका करदातालाई स्वयंकरमा आधारित विवरण बुझाउने, राजस्व दाखिला गर्ने, करदाता शिक्षामा सहभागी हुने र कर सम्बन्धी गुणस्तरीय अन्य सेवा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

आन्तरिक राजस्व कार्यालय, भरतपुरबाट कर सम्बन्धी सेवा प्राप्त गर्ने करदाताको संख्या आर्थिक वर्ष २०८०/०८१ आषाढसम्म जम्मा ७०६०८ रहेको छ। आगामी दिनहरूमा नयाँ करदाता थप गर्ने, कर सङ्कलनमा आधुनिक सूचना प्रविधिको प्रयोग बढाई थप सरलीकरण गर्ने र करदाताको कर अनुपालनमा अभिबृद्धिका लागि करदाता शिक्षा प्रदान गर्नुका साथै बजार अनुगमन र करदाताको आर्थिक कारोबारको अनुसन्धान प्रभावकारी रुपमा गर्ने कार्यलाई प्राथिमकतामा राखिनेछ। करदातामैत्री कर प्रशासन सञ्चालन गर्ने हाम्रो लक्ष्य हो। करदाताले आफ्नो अधिकारको प्रयोग गर्दा स्वतन्त्र विवेकका साथ सही कारोबार घोषणा गरी आय विवरण पेश गर्न र राजस्व दाखिला गर्नको लागि आन्तरिक राजस्व कार्यालयले प्रदान गर्ने सेवालाई सरलीकरण र सहज हुने सुनिश्चितता गरिनेछ। कर प्रशासनमा महसुस गरिएका झन्झटिला कानूनी प्रक्रिया र कार्यविधिहरूमा समेत सरलीकरण गर्दै लैजाने कार्यमा सेवाग्राहीबाट अमूल्य पृष्ठपोषणको अपेक्षा राख्दछौ। करदातामैत्री सेवाप्रवाहको लागि जनशक्तिको पूर्ण क्षमतामा व्यवस्थापन गर्दै समुचित रुपमा परिचालन गर्न तालुक विभागबाट सहयोग प्राप्त हुनेछ। नेपाल सरकारले स्वीकृत गरेको संगठन संरचनाका आधारमा तोकिएको कार्य विवरणको कार्यान्वयनका लागि कार्यसम्पादन कार्य योजना तयार गरी शाखाहरूलाई व्यवस्थित गरिनेछ। करदाता सेवा, कर सङ्कलन र अनुसन्धान तथा अन्तःशुल्क प्रशासन सम्बन्धी काममा जनशक्तिको उच्चतम प्रयोग र समन्वयबाट कार्य सम्पादनस्तर अभिबृद्धि गरिनेछ।

राज्यको आन्तरिक स्रोत व्यवस्थापन सबल भएमा आत्मनिर्भर अर्थतन्त्रको विकास हुने र दिगो विकासका लक्ष्य हासिल गर्न सकिने हुँदा आन्तरिक राजस्व परिचालनमा विशेष ध्यान दिइनेछ। कानूनको परिपालना गराई कर सङ्कलनको लागि करदातामैत्री प्रशासनमा जोड दिइनेछ। सूचनाको हक सम्बन्धी संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन गरी सुशासन कायम गर्ने प्रभावकारी उपायहरू अबलम्वन गरिनेछ। हामीले पाएको जिम्मेवारी पूरा गर्न हामी चुनौतीलाई अवसरमा परिवर्तन गर्ने कार्यमा केन्द्रित हुनेछौ। आन्तरिक राजस्व कार्यालय, भरतपुरले सेवाग्राहीको हरेक काम गर्दा निर्णयमा व्यक्तिगत स्वतन्त्रता र कार्यान्वयनमा कानूनी एकरुपता कायम हुने गरी सेवाप्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।